काठमाडौं । बंगलादेशको ढाकामा भएको शेख कमल स्मृति अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिप अन्तर्गत करातेमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा १ स्वर्ण र ५ रजत जितेको नेपाली टोली बिहिबार स्वदेश फर्किएको हो ।
गत अगष्ठ ५ देखि ८ सम्म भएको च्याम्पियनसिपमा ६५ केजी तौल समूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए । उनले बंगलादेशी खेलाडीलाई पराजित गरी स्वर्ण सुरक्षित गरेका थिए ।
त्यस्तै ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भूजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामाले रजत पदक जितेका थिए । नेपाली टिमको नेतृत्व शहदेव राजवंशी र प्रशिक्षकमा ऋषि लामा र टिम व्यवस्थापकमा सोम दोङ र नरेन्द्र प्रसाद सुकुमटु पनि बंगलादेश गएका थिए ।
पदक विजेता नेपाली टोलीलाई बिहीबार मदन भण्डारी स्पोर्ट एकेडेमीका सचिव एवम् मार्शल आर्ट बिभाग प्रमुख ओम प्रसाईं, आईडब्ल्यू एफएम कराते डो संघका महासचिव उपेन्द्रकुमार शाही, सदस्य मंगल शाही तथा सोही संघका भक्तपुर जिल्ला अध्यक्ष नकुल रानामगर र खेलाडीका परिवारजनले त्रिभूवन विमानस्थलमा स्वागत गरेका थिए ।