काठमाडौं । सांग्रिला पब्लिक स्कुलले पहिलो संस्करणको इस्टपोल अन्तरविद्यालय सेभेन 'ए' साइड फुटबल अन्तर्गत छात्रा र छात्र दुवै तर्फको उपाधि जितेको छ ।
जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा बिहिबार भएको छात्राको फाइनलमा सांग्रिलाले छहारी शिक्षा सदनलाई टाईब्रेकरमा २-१ गोल अन्तरले पराजित गर्यो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । छात्रातर्फ नेपालय पब्लिक स्कूल तेस्रो भयो ।
स्कुलको २५ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको छात्रतर्फको उपाधि पनि सांग्रिलाले जित्यो ।

फाइनलमा सांग्रिलाले नेपालयलाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।
छात्रतर्फ लर्ड्स लाइट एकेडमी तेस्रो भयो ।
प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट गोलकिपर नेपालयका पृथ्वी खड्का र उत्कृष्ट खेलाडी नेपालयकै सुशन तामाङ चुनिए ।
प्रतियोगितामा ४ गोल गरेका ब्राइट जोनका सुदीप चौलागाई सर्वाधिक गोलकर्ता चुनिए ।

छात्रातर्फ छहारीकी आशिका दर्माकोटी उत्कृष्ट गोलकिपर र सांग्रिलाकी सुस्मिता शाक्य उत्कृष्ट खेलाडी चुनीईन् ।
सर्वाधिक गोलकर्ताको अवार्ड नेपालयकी एलिसा श्रेष्ठले जितिन् । उनले ३ गोल गरेकी थिइन् ।
प्रतियोगितामा छात्रमा ब्राइ जोन र छात्रामा जीवनतारा एकेडमीले फेयर प्ले अवार्ड जित्यो ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको थियो ।
