काठमाडौं । सांग्रिला पब्लिक स्कुल पहिलो संस्करणको इस्टपोल अन्तरविद्यालय सेभेन ए साइड फुटबल अन्तर्गत छात्रा र छात्र दुवै टिम फाइनलमा प्रवेश गरेको छ ।
जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा मंगलबार भएको छात्राको सेमिफाइनलमा नेपालयलाई २-० ले हराएर सांग्रिला उपाधि नजिक पुगेको हो ।
अब सांग्रिलाले उपाधिको लागि छहारी शिक्षा सदनसँग खेल्नेछ । छहारीले सेमिफाइनलमा जीवन तारालाई १-० ले हराएर सांग्रिलासँगको भेट पक्का गरेको हो ।

छात्रको सेमिफाइनलमा सांग्रिलाले ब्राइट जोनलाई ३-० ले हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
सांग्रिलाले उपाधिका लागि नेपालयसँग खेल्नेछ । नेपालयले लर्ड्स लाइटलाई १-० ले पराजित गरेको थियो ।
छात्रतर्फ सेमिफाइनल पुगेको त्रिकोण पब्लिक स्कुललाई प्रोटेस लागेपछि लर्ड्स लाइटले सेमिफाइनल खेल्ने मौका पाएको हो ।
त्रिकोणले प्रतियोगिताको नियम भन्दा विपरीत खेलाडी मैदान उतारेपछि प्रोटेस लागेको हो ।
प्रतियोगिताको फाइनल खेल माघ २ गते हुनेछ ।
