अमृत र अरहान्त क्वाटरफाइनलमा

काठमाडौं । अमृत थापा मगर र अरहान्त केशर सिंह तेस्रो संस्करणको धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार अमृतले रोबिन देबकोटालाई ३ – ० को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएका हुन् । यस्तै अरहान्तले विजय मगरलाई ३ – ० ले नै पराजित गरे ।
पुरुष सिंगल्सतर्फ नै राकेश गुप्ताले लोकेन्द्र भण्डारीलाई ३ - १ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाए । त्यस्तै ज्ञानु चौधरीले एरिक लाटोर्रेलाई ३ – ०, प्रवेश कंशकारले निशान्त अग्रवाललाई ३ – ०, राजेन्द्र शाक्यले काशी राम भण्डारीलाई ३ – ० र दिलिप अधिकारी रत्न काजी शाक्यबाट वाक ओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष मास्टर ५० बर्ष माथितर्फ सुरेश गुरुङ र किशोर महर्जनले क्वाटरफाइनलमा स्थान बनाएका छन् । सुरेशले महेन्द्र महर्जनलाई ३ – ० र किशोरले लाल बहादुर गुरुङलाई ३ – २ को सेटमा परजित गरे ।
पुरुष मास्टरतर्फ नै सुदिप बहादुर सिंहले मधुबन मास्केलाई ३ – ०, प्रेम सिंहले रुपक दास ताम्राकारलाई ३ – ० र इन्द्र बहादुर कार्कीले सानु बाबु महर्जनलाई ३ – ० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् । अनिल बज्राचार्यले विनोद धोज खड्काबाट वाक ओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरे ।
नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् । महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।