काठमाडौं । तेस्रो संस्करणको लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आगामी मंगलबार सुरु हुने भएको छ ।
५ दिन सम्म चल्ने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधा समावेश गरिएको छ ।
पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् । महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा ९० बढि खेलाडी सहभागि हुने आयोजकको अनुमान छ । काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताका लागि प्रायोजकबाट १ लाख ६ हजार रुपैयाँ प्राप्त भएको र जुनियरतर्फ उत्कृष्ट खेलाडीलाई विशेष तलिकको व्यवस्था गरिएको जानकारी दिएको छ ।
अर्को महिना इन्डोनेशियामा हुने एसियन गेम्समा नेपालबाट पहिलो पटक स्क्वासमा पुरुषतर्फ चार खेलाडीले सहभागिता जनाउदैछन् ।
नेपाल स्क्वास राकेट्स संघका उपाध्यक्ष किरण श्रेष्ठले पुर्वाधारको अभावले स्क्वासको विकाश र विस्तारमा राम्रो काम गर्न नसकिएको बताए ।