काठमाडौं । ग्रीनतारा चाइल्ड हेभेन स्कुलले पहिलो संस्करणको बालकुमार स्मृति अन्तरबिद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
ब्राइट जोन स्कुलको फुटसल मैदानमा भएको फाइनलमा लिबर्टी एकेडेमीलाई ४-३ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
सेमिफाइनलमा ग्रीनताराले त्रिकोण एकेडेमीलाई ४-१ तथा लिबर्टीले विट्स एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराएको थियो ।
प्रतियोगितामा त्रिकोण एकेडेमीले तेस्रो स्थान हासिल गर्यो । त्रिकोणले विट्स एकेडेमीलाई २-१ गोल अन्तरले हरायो ।
प्रतियोगितामा फेयर प्ले टिमको अवार्ड इस्टपोल एकेडेमीले हात पार्यो । यस्तै सर्वाधिक गोलकर्ता विट्स एकेडेमीका लक्ष्मण दर्लामी र बेस्ट गोलकिपर ग्रीनताराका बिनम मगरले चुनिए ।
विजेता टिमलाई गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगाना, एन प्याब्सन गोकर्णेश्वर नगरकमिटिका प्रमुख मोहन अधिकारी लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा काठमाडौं जिल्लाका ३९ वटा निजि तथा सामुदायिक बिद्यालयका ४४ टिमको सहभागिता रहेको थियो ।