काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् ।
गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पछि पार्दै सुवासले पुरुषतर्फ स्वर्ण जितेका हुन् ।
स्वर्ण जित्ने क्रममा १७ वर्षीय सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए । बिहीबार सुवासले चार अन्डर ६८ खेलेका थिए । बंगलादेशका मोहमद फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे ।
नेपालका शुक्र बहादुर राईले २ सय ८४ स्कोरसहित कास्य जिते ।
नेपालले पुरुषको टिम इभेन्टतर्फ पनि स्वर्ण पदक जितेको छ । नेपालले ८ सय ३८ स्कोरसहित स्वर्ण जितेको हो ।
टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् । पुरुष टिममा बंगलादेशले रजत र श्रीलंकाले कास्य जित्यो ।
महिलातर्फ श्रीलंकाकी ग्रेस यातावाराले स्वर्ण जितिन् । ग्रेसको कूल २ सय ९६ स्कोर गरिन् ।
बंगालदेशकी जाकिया सुल्तानाले रजत र श्रीलंकाकी थुहासिनी सेल्भाथानामले कास्य जितिन् ।
महिलाको टिम स्पर्धामा पनि श्रीलंकाले स्वर्ण जित्यो । यस्तै बंगलादेशले रजत जित्दा नेपालले कास्यमा चित्त बुझायो ।
महिला नेपाली टिममा काश्मिरा शाह, रबिना श्रेष्ठ र उस्मा कोइराला रहेकी थिइन् ।