काठमाडौ । विगत ११ बर्षदेखि साउदी अरबमा रोजगारीको शिलशिलामा छन्, डम्बर श्रेष्ठ । घर चलाउने बाध्यताले उनलाई साउदीसम्म पुर्याएको हो ।
उनी चार बर्ष अघि मात्र नेपाल आएका थिए । त्यसयता उनी उतै छन् ।
वैदेशिक रोजगारीमा साउदीमा रहेका डम्बरीकी छोरी काजल मंगलबार देशको प्रतिनिधित्व गर्दै साग खेलकुदमा तेक्वान्दोमा स्वर्ण जितिन् ।
फाइनलमा पाकिस्तानकी साइद जादी सिद्रा बटुललाई ५०–१४ ले हराउँदै उनले पहिलो अन्तराष्ट्रिय पदक हात पारिन् ।
पहिलो चरणमा उनले भारतकी राधा भाटिलाई ५०–३९ ले हराएकी थिईन् ।
स्वर्ण जितेपछि उनी भावुक बनिन् ।
उनले आफुले जितेको स्वर्ण साउदीमा रहेका बाबुमा समर्पित गरिन् ।
स्वर्ण जितेसंगै निकै भावुक बनेकी उनी मिडियासामु आफ्नो विगत सम्झिदै थिईन् । जब आमा छेउमै आईन्, उनले आफुलाई सम्हाल्नै सकिनन् ।
त्रिभुवन आर्मी क्लबमा बिगत ४ बर्षदेखि जोडिएकी काजल सिन्धुपाल्चोककी हुन् ।
गरिबीले बाबालाई खाडी पुर्याएको उनको बुझाई छ । पदकले परिवारलाई ठुलो राहत दिएको उनी बताउँछिन् ।
सागको स्वर्णसंगै उनले अबको लक्ष्य एसियन र ओलम्पिक गेम्स रहेको बताईन् ।
‘स्वर्ण जितेको छु, अबको लक्ष्य ओलम्पिक र एसियन गेम्समा स्वर्ण जित्नु हुनेछ ।’ उनले भनिन् ।