काठमाठौं । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्सको लागि नेपाली कराते टोलीले जापानमा बिशेष तयारी गर्ने भएका छन् । बिशेष तयारी गर्न नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ ।
अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले सहभागिता जनाउने छन् । महिलामा चन्चला दनुवारले एकल काता, अनु धिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रिता कार्कीले ६८ केजीमाथि भाग लिने छन् । प्रशिक्षकमा दीपक श्रेष्ठ तथा हीरासिंह डंगोल रहेका छन् । जापानबाटै टोली अगष्ट २२ मा इन्डोनेसिया जाने छ ।
एसियन गेम्समा नेपालले करातेमा हालसम्म ३ कांस्य जितेको छ । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले नेपाललाई कांस्य दिलाएका थिए । इन्चोन एसियाडमा विमलाले जितेको कांस्य नेपालले हात पारेको एक पदक मात्र थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा थापा बिजनस ग्रुपका प्रोप्राइटर प्रणील थापा र नेपाल कराते महासंघका उपाध्यक्ष दीपक मल्होत्राद्वारा प्रायोजित ट्रयाकसुट पनि टोलीका सदस्यलाई प्रदान गरिएको थियो ।