काठमाडौं । राष्ट्रको लागि अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कने खेलाडीलाई सम्बन्धित संघले स्वागत गर्ने गर्दछ । नतिजा जस्तोसुकै होस् ।
तर, इरानमा सम्पन्न एएफसी फुटसल च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गरेर आइतबार साँझ स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटसल टिमको हकमा भने त्यो लागु भएन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा अन्तर्गतको फुटसल समितिले प्रतियोगिता खेल्न जाने टोलीको भव्य विदाई गरेको थियो । तर, तीनै खेलाडीले स्वदेश फर्कदा भने सामान्य स्वागत समेत पाएनन् ।
विमानस्थलबाट खेलाडीहरु बाहिर निस्कदा एन्फा र फुटसल समितिका एकजना पनि सदस्य स्वागतका लागि विमानस्थल नपुग्दा खेलाडी र इरान गएका अफिसियल समेत अलमलमा परेका थिए ।
राष्ट्रिय टिमलाई स्वागत गर्न र लिन एक जना पनि पदाधिकारी विमानस्थल नपुगेपछि केहि खेलाडी ट्याक्सी र केहि पठाओबाट आफ्नो आफ्नो घर लागेका थिए ।
आइतबार बिहान यू-२३ फुटबल टिम स्वदेश फर्कदा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, महासचिव इन्द्रमान तुलाधरसहित फुटसल कमिटिका संयोजक दावा लामा स्वागतका लागि विमानस्थल पुगेका थिए ।
फुटसल टिम फर्कदा भने एन्फाका पदाधिकारी मात्र नभएर फुटसल समितिका संयोजक दावा लामा समेत विमानस्थल पुगेनन् ।
एन्फा र फुटसल समितिका सदस्यहरु स्वागतका लागि नपुग्दा इरान जाने टोलीका अफिसियलहरुले दुखेसो पोखेका थिए । उनीहरुले भर्खरै अघि बढ्दै गएको फुटसललाई वास्ता नगरेको भन्दै दुखेसो पोखेका थिए ।
'हामीले दोस्रो पटक अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थियौं । अघिल्लो पटक भन्दा यस पटक प्रदर्शनमा समेत सुधार भएको छ । तर, एन्फा र समितिले हामीलाई वास्ता गरेको छैन,' एक अफिसियलले भने ।
फुटसल समितिका संयोजक लामाले भने खेलाडी स्वागतको लागि जाने योजना बनाएपनि लक्ष्मी पुजाको कारण जान नपाएको बताए ।
'बिहान यू-२३ टिमलाई पनि लिन गएका थियौं । बेलुका लिन जाने योजना थियो । म आफै जाने भनेको थिए,' लामाले भने, 'तर, साँझ म घरको लक्ष्मी पुजामा व्यस्त भए । त्यसैले जान पाईन् ।'
छनोटको सेन्टर र साउथ जोनको समूह 'ए’ मा रहेको नेपाल जितविहिन बनेको थियो ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ को हार व्यहोरेको थियो । यस्तै अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६-२ ले पराजित भएको थियो ।