काठमाडौं । टासी छिरिङ दोङले तेस्रो संस्करणको बाह्रखरी गल्फको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार रबिन्द्र तिवारीलाई काउन्ट ब्याकको आधारमा हराउँदै टासीले उपाधि जितेका हुन् । उपाधिसँगै टासीले गोल्डेन बल प्राप्त गरेका छन् ।
टासी र रबिन्द्रले समान ३९ स्कोर गरेका थिए । तर, ब्याक काउन्टमा रबिन्द्र पछि परे । उपविजेता बनेका रबिन्द्रले ट्रफी प्राप्त गरे ।
काश्मिरा शाहले ३६ अंक जोड्दै महिलातर्फको उपाधि जितिन् । मेजर जर्नेल महेश बिक्रम कार्कीले सिनियरतर्फको उपाधि जिते । उनले ३८ स्कोर गरे ।
३१ स्कोर जोडेका श्रियोग बस्न्यातले जुनियरतर्फको उपाधि हात पारे । प्रतियोगितामा ३४ ग्रस अंक पाएका सुरेन्द्र फुयालले बेस्ट ग्रसको उपाधि जिते ।
यस्तै विजय श्रेष्ठले लंगेस्ट ड्राइभ, स्टेफेनी मिन्दी वीले क्लोजेस्ट टु दि पिन र च्याम्पियन टासीले मोस्ट बर्डीजको अवार्ड जितेका छन् ।
विजेता खेलाडीलाई सस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई तथा बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधान लगायतले पुरस्कृत गरेका थिए ।