काठमाडौं । राष्ट्रिय फुटसल टिम भोली (आईतबार) स्वदेश आईपुग्ने भएको छ ।
ईरानमा भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गरेर नेपाली टिम भोली काठमाडौं आईपुग्न लागेको हो ।
फुटसल टिम साँझ ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने एन्फाले जनाएको छ ।
ईरानमा भएको छनोट प्रतियोगितामा नेपाल जित विहिन भएको थियो ।
अन्तिम खेलमा अफगानिस्तानसंग ६–२ ले पराजित नेपाल पहिलो खेलमा ताजिकिस्तानसंग ६–० र अज्वेकिस्तानसंग ४–१ ले पराजित बनेको थियो ।
नेपाल मध्य तथा दक्षिण क्षेत्रको समुह एबाट अंक विहिन हुने एक्लो टिम बन्यो ।
यस समुहबाट उज्वेकिस्तान र ताजिकिस्तानले फाईनल चरणमा स्थान बनाएका छन् ।
फाईनल चरणका खेल फेब्रुअरी २७ देखि मार्च ८सम्म तुर्कमेनिस्तानमा हुनेछ ।
नतिजाका हिसाबले बिर्सनलायक प्रर्दशन गरेको नेपाली टिमका प्रशिक्षकले प्रतियोगिताको दौरान प्रतिबन्ध सहित आर्थिक जरिवाना भोगेका थिए ।
एसियाली फुटबल महासंघ एएफसीले मुख्य प्रशिक्षक रेफ्री विष्णु गुरुङलाई प्रतिबन्ध सहित आर्थिक जरिवाना तिराएको हो ।
विपक्षी खेलाडीलाई टचलाईनमा लडाएपछि उनलाई एक खेलको प्रतिबन्ध सहित हजार डलर जरिवाना गरिएको थियो ।