काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल जित विहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार भएको अन्तिम खेलमा अफगानिस्तानसँग ६-२ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहिन घर फर्किएको हो ।
इरानको उर्मियामा खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरिमा ल्याए।
१२ औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दै २-१ ले पछि परेको नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफगानिस्तानका अक्बर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३-२ ले पछि पर्यो।
दोस्रो हाफमा अफगानिस्तानले थप तीन गोल गर्यो । २७औं मिनेटमा मेहदी हशेमीले गोल गर्दा नेपाल ४-२ ले पछि पर्यो। ३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६-२ गोले पराजित भएको हो।
अफगानिस्तानसँगको हारसँगै सेन्टर र साउथ जोनको समूह 'ए’ मा रहेको नेपाल अंक विहिन रहने एक्ली टिम बन्यो । र, नेपाल पुछारमा रह्यो ।
छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो ।
नेपाललाई हराएको अफगानिस्तान सान्त्वना जितसहित घर फर्कियो । अफगानिस्तानले ३ अंक जोड्यो ।
यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् ।
फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।