काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
छनोटको सुरुवाती दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।
इरानको उर्मियामा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै नेपाल पहिलो अंक जोड्न चाहन्छ ।
तुलनात्मक सहज प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्ध नेपाल जित वा बराबरीको नतिजा निकाल्दै छनोटको दुखद विदाई गर्ने योजनामा हुनेछ ।
छनोटको सेन्टर र साउथ जोनको समूह 'ए’ मा रहेको नेपालले २ खेल सकिदा अंक जोड्न सकेको छैन । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो ।
यता, अफगानिस्तान पनि पहिलो जित र पहिलो अंकको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा हार व्यहोरेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराउँदै अफगानिस्तान सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।
उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् । फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।