काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
इरानको उर्मियामा बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । सुरुवातबाट दबाबमा देखिएको नेपालले पहिलो हाफमा मात्र एक पोस्ट आक्रमण गरेको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि नेपालले फराकिलो हार व्यहोर्यो ।
पहिलो खेलमा फराकिलो हार व्यहोरेपनि नेपाली टोलीका सहायक प्रशिक्षक गौरभ बस्नेतले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।
'हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पछिल्लो नतिजासँग र अहिलेको नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको छ,' बस्नेतले भने, 'ताजिकिस्तानसँग हामिले धेरै सिक्ने मौका पायौ। यस खेलमा सिकेका कुर अर्को खेलमा प्रयोग गर्ने छौ।'
ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए।
'सुरुवाती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर, पहिलो हाफको अन्त्य तिर नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियौं,' ताजिकिस्तानका प्रशिक्षक डेडोभिकले भने ।
जितसँगै छनोटको सेन्टर र साउथ जोनमा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग बिहिबार खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।