काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज (बुधबार) बलियो टिम ताजिकिस्खेतानसँग प्रतिस्पर्धा गर्दैछ ।
उत्कृष्ट नतिजा निकाल्ने योजनासहित छनोटका लागि इरान पुगेको नेपालले अपरान्ह ताजिकिस्तानको सामना गर्नेछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:१५ मा सुरु हुनेछ ।
इरानको उर्मियामा नेपाल पहिलो खेलमा सुखद नतिजा निकाल्ने योजनामा हुनेछ । जसको लागि नेपाली टिम मैदान उत्रन तयार रहेको मुख्य प्रशिक्षक विष्णु गुरुङ बताउँछन् ।
‘छोटो समय भएपनि हाम्रो तयारी राम्रै भएको छ। टिम राम्रो बनेको छ। हामी मैदानमा उत्रिन तयार छौ।’ प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक गुरुङले भने ।
प्रशिक्षक गुरुङले नेपाली टिम बलियो रहेको बताउँदै आफुहरुलाई कमजोर नसम्झन चेतवानी समेत दिए । यस्तै प्रशिक्षक गुरुङले खेलाडीलाई डिफेन्सीभसँगै काउन्टर अट्याकिङमा मैदान उतार्ने बताए।
कप्तान विजय गुरुङले बलियो टिम ताजिकिस्तानलाई रोक्ने योजनासहित मैदान उत्रने बताए ।
‘मैदानले गर्दा खेल्न केही समस्या हुन सक्छ तर, हामी शतप्रतिशत दिने छौ। हाम्रो प्रमुख लक्ष्य विपक्षिलाई रोक्ने हो । उनीहरुले हामीमा हेर्ने नजर बदल्नु छ र हामी कमजोर छैनौँ भन्ने प्रमाणित गर्नु छ।’
ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले टिमले दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको बताउँदै युएई र बहराईनसँगको मैत्रिपूर्ण खेलले टोली बलियो बनेको बताए ।
छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह 'ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।