काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टिम इरान पुगेका छन् ।
छनोटका लागि १४ खेलाडी र ६ अफिसियलसहितको २० सदस्सीय नेपाली टिम सोमबार अपरान्ह इरान पुगेका हुन् । नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका थिए ।
छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह 'ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते प्रतिस्पर्धा गर्दै छनोटको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।
नेपाल प्रतियोगिता सुरु हुनु भन्दा दुई दिन अघि नै इरान पुगेको हो ।
प्रतियोगिता हुने स्थानमा घुलमिल हुन नेपाली टिम केहि दिन अघि इरान आएको प्रशिक्षक गुरुङले जानकारी दिए ।
'हामीले नेपालमा खुल्ला मैदानमा प्रशिक्षण लिएका थियौ। यहाँ इन्डोर खेल्नु पर्ने छ।' प्रशिक्षक गुरुङले भने, 'हामिले एक दिन यहाँ प्रतियोगिता संचालन हुने भेन्युमा प्रशिक्षण लिने छौँ। जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुनेछ।'
नेपाल विजय गुरुङको कप्तानीमा मैदान उत्रने छन् ।
नेपाली टिम :
अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ