सोलुखुम्बु । बाह्रखरी ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । प्रतियोगिता ४ हजार २ सय ५० मिटर उचाईमा भएको हो ।
यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको प्रतियोगिता हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पुर्याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको पहिलो दिन आज (आइतबार) ४ हजार २ सय ५० मिटर उचाइमा रहेको सगरमाथा क्षेत्रको कोङ्देरी मा ६ जना गल्फर र ३ हजार ८ सय ८० मा रहेको स्याङ्बोचेमा ८ जना खेलाडीले एक होल खेलेका थिए ।
खराब मौसमका कारण पहिलो दिन सबै खेलाडीले सहभागिता जनाउन पाएनन् । तर, लुक्लामा सहभागी खेलाडीहरुले भने खेल्ने अवसर पाएका थिए ।
बाह्रखरी गल्फले विश्वमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको गल्फको रेकर्ड राखेको बाह्रखरी मिडिया प्रालिका उप–महाप्रबन्धक सूर्य घिमिरेले बताए ।
दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ ।