काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप छनोटमा सहभागिता जनाउन इरान प्रस्थान गरेका छन् ।
१४ खेलाडी र ६ अफिसियलसहितको २० सदस्सीय नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै विदाई गरेको थियो ।
छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।
नेपाल विजय गुरुङको कप्तानीमा मैदान उत्रने छन् ।
नेपाली टिम :
अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ