काठमाडौं । मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् ।
चितवनको रत्ननगरमा पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुनि आयुशले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गर्दै स्वर्ण जिते । न्युलाईफका सुगम चौधरी र अल्फाका जस्गिन चौधरी तेस्रो भए ।
पुरुष ३३ केजी मुनि वेस्टर्न इस्टका कलीशान्त नाथले स्वर्ण जिते । कलीले फाइनलमा दोधारा चाँधनीका शिशिर ठगुन्नालाई हराए । शरित सौराहाका जनक दर्लामी र भैरहवाका शिवबहादुर क्षेत्री तेस्रो भए । पुरुष ४५ केजी मुनि द एभरेष्टका शंकर गौतम पहिलो भए । फाइनलमा उनले एरिस्टोका रुपेश सिंहलाई हराए । दिलिप स्मृतिका रमन तामाङ र सिद्धज्योतीका राजिव थापा तेस्रो भए ।
प्रतियोगिताको उद्घाटन रत्ननगर नगरपालिकाकी उपमेयर विमला दवाडीले गरिन् । उक्त अवसरमा अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का निर्देशक दिवाकर मर्हजन, लव गोर्खाली, नेपाल तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरी, तेक्वान्दोका मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ, तेक्वान्दोका प्रशिक्षक मिन न्यौपाने, राजेश प्रजापती, श्रीमान थापामगर, फडिन्द्र खड्का लगायतलाई सम्मान गरिएको थियो ।
शनिबारसम्म चल्ने दुई दिने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, पुम्सेमा ८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) र ललितपुर मैत्री तोक्वान्दो डोजाङको सहयोग तथा सहकार्यमा सञ्चालित प्रतियोगितामा विभिन्न ४० जिल्ला, विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र विभिन्न डोजाङका खेलाडीले कूल ५४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।