काठमाडौं । बानेश्वरको देउराली क्लबले गुरु पूर्णिमाको अवसर पारेर पूर्व उद्योग मन्त्री महेश बस्नेतलाई शुक्रबार सम्मानित गरेको छ । क्लबले बस्नेतलाई पूर्व खेलाडीका रुपमा सम्मान गरेको हो ।
क्लबबाट सम्मानित भएपछि प्रतिनिधीसभा सदस्य समेत रहेका बस्नेतले भक्तपुरबाट बानेश्वरको सो क्लबमा नियमित रुपमा ट्रेनिङ्गको लागि आउदाको दिनहरु स्मरण गरेका थिए । बस्नेतले देउराली डोजोबाट कराते खेल्नुका साथै खेल्न सिकेका थिए । बस्नेतले भने, ' भक्तपुरबाट ट्रलिबसमा झुन्डिएर ट्रेनिङ्गका लागि देउराली क्लबमा आउने गर्थ्यौ । आज लामो समयपछि क्लबले सम्झेकोमा म निकै खुसी छु ।’
यस्तै क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका अन्य खेलाडीलाई पनि सम्मानित गरेको छ । जसमा लिलेन्द्र प्रसाद प्रधान, सिंहबहादुर राना मगर, निर्मल शर्मा, दुर्लभ कार्की, श्याम श्रेष्ठ, आशिष विष्ट, सचिन मल्ल र दामोदर छत्याल रहेका छन् । उनीहरु सबै क्लबमा पुर्व कराते खेलाडी हुन् ।
सम्मानित भएपछि लिलेन्द्र प्रसाद प्रधानले पुरानो यादहरु सम्झना भएको बताए । 'क्लबले आज हामीलाई सम्झियो । २७÷२८ साल सम्झाइदियो । अब यसले खेल र सामाजिक क्षेत्रमा अझ राम्रो काम गरोस्,’लिलेन्द्र प्रसाद प्रधानले भने ।
कार्यक्रममा क्लबका अध्यक्ष अर्जुन रानामगर, देउराली डोजाका राजेन्द्र जोशी, कराते महासंघका महासचिव हरिशरण केसी, प्रशिक्षकहरु कुशल श्रेष्ठ र तारा गुरुङको उपस्थिति थियो ।