काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)का लागि बक्सिङका विदेशी प्रशिक्षक काठमाडौं आएका छन् ।
नेपाल बक्सिङ संघको निमन्त्रणामा उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव आज (बिहिबार) नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बक्सिङका प्रमुख प्रशिक्षक प्रकास थापाले एलिसरलाई स्वागत गरेका थिए ।
दश पटकका राष्ट्रिय च्याम्पियन एलिसरले १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए । उनले १९९९ को एशियन खेलकुदमा स्वर्ण जित्दा १९९७ मा रजत हात पारेका थिए ।
प्रशिक्षक एलिसरले बिश्व प्रोफेस्नल बक्सिङमा समेत स्वर्ण जितेका थिए । उनी डब्लुबीओ च्याम्पियन हुन ।
नेपाल बक्सिङ संघको निमन्त्रर्णामा नेपाल आएका प्रशिक्षक एलिसरले १३ औं सागलाई लक्ष्य बनाएर प्रशिक्षण दिने छन् ।
उनले शुक्रवार देखिनै नेपाली राष्ट्रिय बक्सिङ टिम समाल्ने छन् ।
बिहिवारनै नेपाल पौडी संघको निमन्त्रणामा भारतबाट प्रशिक्षक सतिस सुरी नेपाल आएका छन् ।
भारतको राष्ट्रिय पौडी टोलीको लामो समयसम्म प्रशिक्षक रहेका सतिस सुरीले सागमा सहभागि हुने खेलाडीलाई प्रशिक्षण दिने छन् ।