काठमाडौं । पोखरामा पहिलो पटक अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एसोसियसनको संयुक्त आयोजनामा प्रतियोगिता असोज २९ गते हुन लागेको हो ।
प्रतियोगितामा दौड, साइक्लिङ र बोटिङ खेल रहेको नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङले खेलपाटीलाई बताए ।
प्रतियोगितामा एक टिममा ३ खेलाडी रहनेछन् । सो टिमका खेलाडीमध्ये २ जनाले दौडिनु पर्ने र एक जनाले साइक्लिङ गर्नुपर्नेछ । साइक्लिङ तथा दौड जुनै खेलाडीले फेरबदेल गरेर गर्न पाउनेछन् ।
दौड बैदामको बाराही चोकबाट सुरु भएर सोही ठाउँमा आएर टुङ्गिनेछ । बाराही चोकबाट सुरु भएको दौडमा फुट्सेखोलासम्म तीन खेलाडी नै दौडिनेछन् । सो ठाउँमा आएपछि एक जनाले साइक्लिङ गर्नेछ । कुबिण्डे भन्ज्याङमा आएर सो टोलीले बोटिङ गर्नेछन् ।
प्रतियोगितामा दौड २२ किलोमिटर, १९ किलोमिटर साइक्लिङ, १.२ किलोमिटर बोटिङ हुनेछ ।
गण्डकी प्रदेशले सन् २०२२ सम्म २० लाख पर्यटन भित्राउने योजना सार्वजनिक गरेसँगै पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगितामा चीनका ४० धावकका साथै सञ्चारकर्मी र सरकारी प्रतिनिधिसहित कुल ६० जनाको सहभागी रहनेछ ।