काठमाडौं । नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते आयोजना हुने भएको छ ।
प्रत्येक बर्ष मंसिरको पहिलो साता सञ्चालन हुदै आएको प्रतियोगिता यस बर्ष मंसिर ७ गते आयोजना गर्न लागिएको हो ।
क्रियटिभ ह्याण्ड्सले शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजना गर्दै आएको प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको स्मरणमा नेपालगन्ज म्याराथन सुरु गरिएको हो ।
आयोजक क्रियटिभ ह्याण्ड्सले पाँचौ संस्करणको प्रतियोगिताको पुरस्कार राशीमा बृद्वि गरिएको जनाएको छ । वृद्वि गरिएको पुरस्कार राशीको केही समयपछि खुलाईनेछ ।
यस बर्ष समेत पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी ८ देखि १२ बर्ष उमेर समुह र शारीरिक रुपले अशक्तका लागि पनि दौड स्पर्धा समेटिएको क्रियटिभ ह्याण्ड्सले आईतबार एक बिज्ञप्ती जारी गरेर बताएको छ । यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट दौड पनि राखिएको छ ।