काठमाडौं । तेक्वान्दोको 'आईओसी तेक्वान्दो टेक्निकल सोलिडारिटी कोर्स' सुरु भएको छ । सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीमा बुधबारबाट चार दिने कोर्स सुरु भएको हो ।
नेपाल ओलम्पिक कमिटिको तत्वाधानमा नेपाल तेक्वान्दो संघले आयोजना गरेको कोर्समा नेपालका सात प्रदेश तथा विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र पुलिस क्लबका गरि ९० जना प्रशिक्षकहरुले सहभागिता जनाएका छन् । कोर्स आगामी असोज १२ गतेसम्म चल्ने छ ।
यस्तै नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका पुम्से विधाका खेलाडी समेत कोर्समा सहभागी भएको संघका केन्द्रिय सदस्य हेमन्त डाँगीले जानकारी गराए ।
कोर्समा सहभागी प्रशिक्षकहरुलाई दक्षिण कोरियाबाट आएका तेक्वान्दोका ग्राण्डमास्टर तथा प्रोफेसर डाक्टर इन्सिक ह्वाङले प्रशिक्षण गराउने छन् ।
कोर्सको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद जीवन राम श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणा, महासचिव दीपराज गुरुङ लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।