काठमाडौं । इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले दोस्रो चरणमा १८ सदस्सीय राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले मंगलबार २५ सदस्सीय प्रारम्भिक टोलीबाट १८ खेलाडी छनोट गरेको हो । अब एन्फाले १८ सदस्सीय टिमबाट अन्तिम टोलीको घोषणा गर्नेछ ।
१८ सदस्सीय टोलीमा राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका आशिष लामा र विजय गुरुङ समेत परेका छन् ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक विष्णु गुरुङ र सहायक प्रशिक्षक गौरव बस्नेतले प्रशिक्षण गराई रहेका छन् ।
छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजकिस्ता, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
१८ सदस्सीय नेपाली टिम :
आदिल हामिद, आशिष लामा, अभय राना,अनिष श्रेष्ठ,अरुज सिंह,विजय गुरुङ,विजय श्रेष्ठ, विनोद गुरुङ,दिपेश घले,मनि लामा,नविन लामा,निर्मल गुरुङ, रवि चन्द्र थापा, संजोक राई, सरोज तामाङ,सुमित आले,सुरज गुरुङ, मिसन लामा