काठमाडौं । पहिलो संस्करणको रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ ।
आइतबार भएको फाइनलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाईब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियू च्याम्पियन बनेको हो ।
शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
उपाधिसँगै अनेरास्ववियूले २५ हजार प्राप्त गरेको छ । लिखु भुजीले १५ हजार प्राप्त गर्दा तेस्रो भएको डाइनामिक युथले १० हजार प्राप्त गरेको छ । महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक तेस्रो भएको हो ।
विजेता खेलाडीलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम कडेरिया, भलिबलका राष्ट्रिय रेफ्री सिताराम कार्की, व्यवसायी राकेश श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।
रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताए ।
यस्तै समाजकी काेषाध्यक्ष यसिमा महतले फुटसल कार्यक्रमले पत्रकारहरु कलम मात्रै चलाउने हाेइन शारीरिक, मानसिक, बाैद्विक सबै हिसाबले जुनसुकै क्षेत्रको पनि काम गर्न सक्छन् भन्ने उदाहरण दिएको बताईन् ।
प्रतियोगितामा रामेछाप जिल्ला भरिबाट २७ टोलीले सहभागीता जनाएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो ।