काठमाडौं । महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’को उपाधि सुमेरु हस्पिटलले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा काठमाडौं मोडेल हस्पिटललाई ३–१ गोल अन्तरले पराजित गर्दै सुमेरु च्याम्पियन बनेको हो ।
काठमाडौंको ढुकु फुटसल मैदानमा भएको खेलमा सुमेरुलाई च्याम्पियन बनाउन कान्जा तेन्जिङ शेर्पाले दुई तथा अनिल महर्जनले एक गोल गरे ।काठमाडौं मोडेलका पियुसले एक गोल फर्काए ।
सुमेरुले मध्यपुर र काठमाडौं मोडेलले अल्कालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।
उपाधिसँगै सुमेरुले ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता काठमाडौं मोडेलले २० हजार रुपैयाँमा चित्त बुझायो ।
विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्जवल ओली, किंग्स लाउन्चका कुमार गुरुङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष धुव्र न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ हस्पिटलले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
प्रतियोगितामा निदान हस्पिटल, तिलगंगा, सुमेरु, नेपाल एपीएफ, बयोधा, विनायक, स्टार, मध्यपुर, सिभिल, मेट्रो आई केयर, ट्रमा सेन्टर, नेपाल पुलिस, मेट्रो, नेपाल क्यान्सर, अल्का, मातृका आई सेन्टर, नेश्नल क्यान्सर जावलाखेल, नर्भिक, काठमाडौं मोडेल, नेपाल नेश्नल र हिमाल हस्पिटलले सहभागीता जनाएका थिए ।