धनगढी । नेपाल आईस धनगढी फुटसल लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार भएको क्वाटरफाइनल खेलसँगै लिगको अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको क्वाटरफाइनलमा जित निकाल्दै सेन्चुरी बैंक, नबिल बैंक, एनआईसि एसिया र कैलाश विकास बैंक सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो क्वाटरफाइनलमा सेन्चुरीले बैंक अफ काठमाण्डौंलाई १३–२ को फराकिलो अन्तरले हरायो । सेन्चुरीका लागि तपराज जोशीले दोहोरो ह्याट्रिक सहित ७ गोल गरे । पदम कठायत क्षितिज सिंह र शिवराज पाठकले २/२ गोल थपे । बैंक अफ काठमाण्डौंका लागि महेश जोशीले दुई गोल फर्किए ।
अब सेन्चुरीले सेमिफाइनलमा नबिलसँग खेल्नेछ । नबिलले नवजीवन को–अपरेटिभ्समाथि ५-२ को रोमाञ्चक जित हात पार्यो ।
निर्धारित समयमा दुई टीमले १-१ को बराबरी खेलेपछि समय थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफमा एक गोल गर्दै नवजीवजले अग्रता कायम गरेको थियो । तर, दोस्रो हाफको थपिएको ५ मिनेटमा ४ गोल गर्दै नबिलले ५–२ को जित हासिल गरेको हो । नबिलका लागि विरेन्द्र चन्द र विवेश विष्टले दुई दुई गोल गर्दा केशव चौधरीले एक गोल थपे । नवजीवनका लागि जीतवहादुर थापाले दुई गोल फर्काए ।
त्यस्तै अर्को क्वाटरफाइनलमा एनआईसी एसियाले कुमारी बैंकलाई ९–५ ले हराएको छ । एनआईसिका लागि महेश शाही र दिपक विष्टले ह्याट्रिक सहित चार/चार गोल गरे भने युवराज कुँवरले एक गोल थपे । कुमारीका लागि किशोरराज भट्टले एक्लै पाँच गोल गरे ।
अब सेमिफाइनलमा एनआईसी एसियाले कैलाश विकास बैंकसँग खेल्नेछ । कैलाशले सिद्धार्थ बैंकलाई १८–२ गोलको फराकिलो अन्तरले हरायो । ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद ५० हजार पाउनेछ । उपविजेताले ट्रफी सहित नगद २५ पाउनेछ ।