काठमाडौं । आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्ट ‘बी’ ले पहिलो खेलमा एलआरआईलाई ३७–६ ले सहजै पराजित गर्यो ।
रेडिअन्ट ‘बी’ को जितमा सालिक लामिछानेले १२ अंक योगदान गरे । उपेन्द्र बस्नेतको ११ अंक सहयोगमा रेडिअन्ट ‘बी’ ले जेनिअमलाई ५०–२५ ले हरायो ।
सिनियर ब्वाइजमै नेपाल सेन्ट्रलले आयोजक रेडिअन्ट ‘ए’ लाई २९–१० तथा एआईले विस्डमलाई ३१–१९ ले पाखा लगाए । नेपाल सेन्ट्रलका प्रफुल्लले १५ तथा एआईका सुशान्त कुँवरले १२ अंक जोडे ।
जुनियर ब्वाइजमा रेडिअन्टले एलआरआई ३७–११ तथा नेपाल सेन्ट्रलले एआईलाई १३–१२ ले पन्छाए । रेडिअन्टका राज रोकाले ११ तथा नेपाल सेन्ट्रलका रोहितले ५ स्कोर गरे ।
सिनियर गल्र्समा एलआरआईले ज्योति एकेडेमीलाई १७–८ तथा न्यु भिजनले नेक्ससलाई १०–५ ले निराश पारे । एलआरआईकी सोनिया राणाले ७ तथा न्यु भिजनकी युनिशा बुढाथोकीले ४ अंक जोडे ।
प्रतियोगिताको प्याब्सनका सह–सचिव सूर्यबहादुर भण्डारी र रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
भदौं १३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।