काठमाडौं । इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
एसियन फुटबल फेडेरसन (एएफसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले ताजकिस्तानलाई पहिलो प्रतिद्वन्दी पाएको हो ।
सेन्टर र साउथ जोनमा रहेको नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुनेछ ।
प्रतियोगिताको लागि एन्फाको फुटसल कमिटीले आइतबारबाट खेलाडी छनोट सुरु गरिसकेको छ । छनोटमा आएका उत्कृष्ट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम चरणको छनोट गरिने एन्फाले जनाएको छ ।