काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको छनोट खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ ।
इरानमा आयोजना हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले राष्ट्रिय टिमको छनोट प्रतियोगिता आयोजना नगरी खुल्ला छनोटबाट गर्न लागेको हो ।
एन्फाले एक सूचना निकाल्दै राष्ट्रिय टिमको छनोटमा सहभागिता जनाउन फुटसल खेलाडीलाई नाम दर्ताको आह्वान गरेको छ । एन्फाले दर्ता भएका खेलाडीबीच साउन २७ देखि ३१ गतेसम्म क्लोज क्याम्प गर्दै राष्ट्रिय टिम छनोट गर्नेछ ।
अघिल्लो पटक भने नेपालले प्रतियोगिता आयोजना गरेर खेलाडी छनोट गरेको थियो । रमेश रायमाझीको संयोजकत्वमा रहेको फुटसल कमिटिले रेडबुल राष्ट्रिय फुटसल प्रतियोगितानै आयोजना गरेको थियो ।
एन्फाको फुटसल कमिटिका संयोजक तथा केन्द्रिय सदस्य दावा लामाले प्रतियोगिताको धेरै नजिक आएको कारण तयारी नपुग्ने हुँदा प्रतियोगिता नगरी खुल्ला छनोटबाट टिम बनाउन लागेको जानकारी गराए ।
‘यस पटक हामीले टिम बनाउन प्रतियोगिता नगराई सिधै खुल्ला छनोट राखेका छौं । प्रतियोगिता नजिकै आएको कारण तयारी नपुग्ने हुँदा खुल्ला छनोटबाट टिम बनाउन लागेका हौँ,' लामाले खेलपाटीसँग भने, 'छनोट चुच्चेपाटी भाटभटेनी फुटसलमा हुनेछ ।’
यस्तै लामाले दर्ता भएका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने बताए । यस्तै नेपाली टोलीको तयारी गर्न कतारसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको समेत लामाले जानकारी गराए ।
एन्फाले राष्ट्रिय टिम छनोटमा सहभागिता जनाउन साउन २६ गतेसम्म फारम भर्नुपर्ने जनाएको छ । जसको लागि एन्फाले २५० रुपैया मुल्य निर्धारिण गरेको छ ।
त्यस्तै एन्फाले फुटसल टिमको प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गर्ने तयारी गरिरहेको छ । विष्णुलाई हालै पोखराको सहारा एकेडेमीले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
तुर्किमिनिस्तानमा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । सेन्टर र साउथ जोनमा रहेको नेपालको समूहमा अफगानिस्तानसँगै ताजकिस्तान र चार पटकको उपविजेता उज्वेकिस्तान रहेका छन् ।
छनोट आगामी अक्टोबर १६ देखि २७ सम्म हुनेछ । फाईनल चरणको छनोट भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमिनिस्तानमा आयोजना हुँदैछ । फाइनल चरणको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।