धनगढी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा बिहिबार लिग चरणका खेलहरु भएका छन् । छात्रा तर्फको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमी र दोस्रो खेलमा कैलाली वहुमुखी क्याम्पसको बीबीएम 'बी' टिम विजयी भएका छन् ।
दुवै टोली पेनाल्टी सुटआउटमा १–० ले विजयी भएका हुन् । सुदुरपश्चिमाञ्चल एकेडेमीले नेपाल वेष्टर्न एकेडेमीलाई र वहुमुखी क्याम्पसले ऐश्वर्य वहुमुखी क्याम्पसलाई हराएको हो । निर्धारित समयमा दुवै खेलमा कुनै पनि टोलीवाट कुनै पनि गोल नभएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो ।
छात्र तर्फ भएको उद्घाटन खेलमा कैलाली बहुमुखी क्याम्पस बीबीएम 'बी' ले नाष्ट उच्च माविलाई ६–३ ले हरायो । अर्को खेलमा कैलाली बहुमुखी क्याम्पस बीबीएम ए लाई नेपाल वेष्टर्न एकेडेमीले ९–० ले किनारा लगायो ।
कैलाली बहुमुखी क्याम्पसले नाष्ट उच्च माविलाई १४–० को फराकिलो अन्तरले हरायो । कैलाली बहुमुखी क्याम्पस बीबीएस बी ले नाष्ट उच्च माविलाई १–० को झिनो अन्तरले किनारा लगाउँदा कैलाली बहुमुखी क्याम्पसले नेपाल वेष्टर्न एकेडेमीलाई १६–१ को फराकिलो अन्तरले हराएर दोस्रो चरणमा पुग्यो ।
वेष्टर्न ईन्टरनेशनल कलेजले नाष्ट उच्च माविलाई ६–१ ले पराजित गर्यो । पहिलो चरणको अन्तिम खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीलाई कैलाली बहुमुखी क्याम्पस बीबीएम ए ले ६–५ को अन्तरले हरायो ।
प्रतियोगिताको दुवैतर्फको विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार पाउनेछन् ।