काठमाडौं । पहिलो संस्करणको स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिप शनिबारबाट सुरु हुने भएको छ ।
आयोजक एक्टिभ स्पोर्ट्स कम्प्लेक्सले प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता शनिबार सुरु हुने जनाएको छ । दुई दिन प्रतियोगितामा २० बैंकहरुको सहभागिता रहेको छ ।
ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा आयोजना हुने प्रतियोगिता अन्तर्गत आउने शनिबार लिग चरण र अर्को साताको शनिबार नकआउट र फाइनल खेल हुने आयोजकले जनाएको छ ।
आयोजकले २० क्लबलाई ४ समूहमा विभाजन गरेको छ । हरेक समूहको विजेता र उपविजेता टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
समूह ‘ए’ मा नबिल , ग्लोबल आइएमइ, नबिल, कुमारी र लक्ष्मी बैंक, समूह ‘बी’ मा सिद्धार्थ, सिटिजन, मेघा, माछापुछ्रे, एनआइसी एसिया बैंक रहेको छ ।
यस्तै समूह ‘सी’ मा एनसीसी, राबीबी, सिभिल, प्रभु र सेन्चुरी तथा समूह ‘डी’मा हिमालयन, एनएमबी, सनराइज, नेपाल बंगलादेश र बिओके रहेको छ ।
मोरंग अटो वर्क्स अन्तर्गत स्कोडा गाडीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बैंकमा कार्यरत कर्मचारीले मात्र खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले कम्प्लेक्समा एक वर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।