काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिप अन्तर्गत १ सय मिटर ब्रेस्टस्ट्रोकमा नेपालका सुभम श्रेष्ठ हिट चरणबाटै बाहिरिएका छन् ।
ग्वाङझुमा आइतबार भएको १ सय मिटर ब्रेस्टस्ट्रोकमा सुभमले १ मिनेट ११ दशमलब ७४ सेकेण्डको समय निकाले । चौथो हिटमा रहेका सुभम हिट चरणमा नवौं स्थानमा रहे । समग्रमा सुभम ८४ औं स्थानमा रहे । यस स्पर्धामा कुल ८७ खेलाडी रहेका थिए ।
सुभमको नाममा यस स्पर्धामा नेपालमा राष्ट्रिय कीर्तिमान रहेको छ । उनले प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा १ मिनेट ८ दशमलब १५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । तर, उनले व्यक्तिगत प्रदर्शन समे सुधार गर्न सकेनन् ।
अब सुभमले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
विश्व पौडीमा नेपालबाट अर्का खेलाडी एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन् ।