काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटसल टिम छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाको फुटसल कमिटिले आगामी भदौ दोस्रो साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको छ ।
एएफसी फुटसल च्याम्पियनसिप-२०२० छनोट प्रतियोगिताको मिति नजिकिदै गर्दा मौन देखिएको एन्फाले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता भदौ दोस्रो साताबाट आयोजना हुने एन्फा फुटसल कमिटिका संयोजक तथा एन्फाका केन्द्रिय सदस्य दावा लामाले खेलपाटीलाई जानकारी गराए ।
‘हामी मौन छैनौँ । प्रतियोगिता आयोजना गर्ने मिति टुंगो लागिसकेको छ । अब चाडै हामी तयारी गर्छाै ।’ संयोजक लामाले खेलपाटीसँग भने ।
लामाले प्रतियोगिता भदौ ९ गतेबाट २० गतेसम्म संचालन हुने जानकारी गराए । लामाको अनुसार प्रतियोगिता मिति तय भने पनि तयारी केहि समयपछि गरिने छ ।
‘हाम्रो उपसंयोजक बाहिर हुनुहुन्छ । केहि समयपछि उहाँ आउनुहुन्छ,' लामाले भने, 'त्यसपछि प्रतियोगिताको सम्पुर्ण तयारी गर्छाै । अहिलेलाई मिति मात्रै तय गरेको छौँ । ’ एन्फाको उपसंयोजकमा विनोद गुरुङ रहेका छन् ।
संयोजक लामाका अनुसार उक्त प्रतियोगिताबाट नेपाली राष्ट्रिय फुटसल टोली निर्माण गरिन्छ । जुन टोलीले एएफसी फुटसल च्याम्पियनसिप-२०२० को छनोट खेल्नेछ । इरानमा आयोजना हुने छनोट आगामी अक्टोबर १६ देखि २७ सम्म हुनेछ ।
फाईनल चरणका खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्केमिनिस्तानमा आयोजना हुँदैछ । फाइनल चरणको प्रतियोगितामा १६ टिम रहनेछन् ।
आयोजक तुर्केमिनिस्तान आयोजकको नाताले स्वतः छनोट भईसकेको छ । अन्य टिम भने आ-आफ्नो जोनबाट छनोट हुनेछन् । नेपाल भने साउथ तथा सेन्टर जोनमा रहेको छ । यस जोनबाट ४ देश छनोट हुनेछन् । यस्तै इष्ट जोन र एसियन जोनबाट ३–३ र वेष्ट जोनबाट ५ टिम छनोट हुनेछ ।
यस अघि नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट खेलेको थियो । नेपाल तुर्किमिनिस्तान, उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।