काठमाडौं । भारतमा जारी दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो दिन नेपालका चार खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा बुधबार नेपालका पुरुष खेलाडी भुपेन्द्र थापा, तेज बहादुर देउवा,प्रकाश लिम्बु र विकास लामा पहिलो खेलमै पराजित भए ।
पुरुष ६४ केजी तौल समूहमा भुपेन्द्र भारत ‘डी’ का अंकुश डहियासंग अंकको आधारमा ३–२ ले पराजित भए । भारतीय खेलाडीविरुद्ध उच्च प्रदर्शन गरेका भुपेन्द्रको यो प्रदर्शन नेपाली खेलाडीहरु मध्येकै उत्कृष्ट प्रदर्शन हो ।
यस्तै ५२ केजी तौल समूहमा तेज बहादुर भारत ‘डी’ का पीएल प्रसादसंग अंकको आधारमा ५–० ले पराजित भए ।
पुरुषको ६९ केजीमा विकास भारतका दिनेश दागरसंग अंकको आधारमा ५–० ले नै पराजित भए । त्यस्तै ६० केजीमा प्रकाश भारतको ‘सी’ टिमका अंकितसंग ५–० अंकले पराजित भए ।
योसंगै प्रतियोगितामा नेपालबाट १० खेलाडीको प्रतिस्पर्धा सकिएको छ ।
प्रतियोगितामा नेपालबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।