काठमाडौं । पहिलो संस्करणको पदकधारी नेपालकी पुनम रावल भारतमा जारी दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा मंगलबार भारत 'ए' टिमकी खेलाडी बसुमाटरी प्विलाओसंग पराजित हुँदै पुनम प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम प्विलाओसंग अंकको आधारमा ५-० ले पराजित भईन् । गत वर्ष यसै प्रतियोगितामा पुनमले कांस्य पदक जितेकी थिईन् । गत संस्करणमा पनि पुनम सेमिफाइनलमा प्विलाओसंग नै ५-० ले पराजित भएकी थिईन् ।
प्रतियोगिता अन्तर्गत नै मंगलबार महिला ५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङ पनि भारत ‘सी’ की जमुना बोरोसंग अंकको आधारमा ५-० ले नै पराजित भईन् ।
यस्तै महिला ५१ केजी तौल समूहमा नेपालकी माला राई भारतकी चर्चित खेलाडी मेरी कोमसंग अंकको आधारमा ५-० ले पराजित भईन् ।
योसंगै प्रतियोगितामा नेपालबाट ६ खेलाडीको प्रतिस्पर्धा सकिएको छ । यसअघि सोमबार नेपालका संगीता सुनार, चन्द्र कला थापा र सुरेन्द्र राई पहिलो खेलमै पराजित भएका थिए ।
प्रतियोगितामा नेपालबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।