धनगढी । नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन मंगलबार लिग चरणका खेलहरु सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।
फ्ल्याटल्याण्ड फुटसल रेडियो डेलिमेलसँग बराबरी खेल्दै पश्चिम टुडे सेमिफाइनल पुग्ने चौथो टोली बन्यो । पश्चिम टुडे र रेडियो डेलिमेलले ५—५ को बराबरी खेल्दै अन्तिम चारमा पुगेको हो । पश्चिम टुडेका लागि रोशन चौधरी र प्रदिप पाठकले दुई दुई तथा दिपक उपाध्यायले एक गोल गरे । रेडियो डेलिमेलका लागि सन्तोष रावत र रमेश शाहले दुई दुई तथा रविन पातलीले एक गोल गरे ।
पहिलो खेल गुमाएको पश्चिम टुडे दुई जित र एक बराबरीसँगै ७ अंक सहित समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । यसअघि भएको एक खेलमा हार व्यहोरेको डेलिमेलले लिग चरणका अन्तिम खेलमा भने अनुमोदनलाई १३—२ ले हराउँदै ५ अंक सहित समूह 'ए' को तेस्रो स्थानमा चित्त वुझाएको छ । सान्तवना जित हात पारेको डेलिमेलका लागि सन्तोष रावतले ९ र भानुभक्त आचार्यले चार गोल गरे । अनुमोदनका लागि श्रवण देउवा र तेज वोहोराले एक एक गोल फर्काए ।
समूह 'ए' बाट अपराजित यात्रा कायम राख्दै १२ अंक सहित एसटिएस समूह विजेता बन्दै यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । मंगलबार भएको अन्तिम खेलमा पनि एसटिएसले डेलीपाटीलाई १२—२ ले पराजित गर्यो । एसटिएसको जितमा सागर शाहले ६ शंकर वोहोराले चार र योगेन्द्र नायकले दुई गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले दुई गोल फर्काए ।
समूह 'ए' बाट विजेता बनेर एसटिएस र उपविजेता बनेर पश्चिम टुडे सेमिफाइनल पुग्दा समूह 'बी'बाट रेडियो धनगढी विजेता र बी टिभी उपविजेता बनेर अन्तिम चारमा पुगेका छन् ।
अब पहिलो सेमिफाइनलमा रेडियो धनगढी र पश्चिम टुडे भिड्नेछन् । अर्को सेमिफाइनलमा एसटिएस टेलिभिजन र बी टिभिबीच प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ।