काठमाडौं । दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको पहिलो दिन नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा सोमबार प्रतिस्पर्धा गरेका संगीता सुनार, चन्द्र कला थापा र सुरेन्द्र राई पहिलो खेलमै पराजित भए ।
महिला ६० केजी लाइट वेल्टर तौल समूहमा संगीता भारतको 'एफ' टिमकी प्रति बेनिवालसंग अंकको आधारमा ५-० ले पराजित भईन् । संगीताले पहिलो संस्करणमा पनि प्रतिस्पर्धा गरेकी थिईन् ।
यस्तै महिला ५७ केजी लाइट तौल समूहमा चन्द्र कला भारतको ‘सी’ टिमकी सोनिया लेथेरसंग अंकको आधारमा ५-० ले नै पराजित भईन् ।
त्यस्तै पुरुषतर्फ ५६ केजी बेन्टम तौल समूहमा सुरेन्द्र थाइल्याण्डका चाटचाई डेचु बुटडीसंग अंकको आधारमा ५-० ले नै पराजित भए ।
सोमबार सुरु प्रतियोगितामा नेपालबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।