धनगढी । एसटीएस टेलिभिजन र रेडियो धनगढी समूह विजेता बन्दै धनगढीमा जारी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
एसटिएस टेलिभिजन समूह 'ए' को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फ्ल्याटल्याण्ड फुटसल सोमबार भएको खेलमा अनुमोदनलाई ११ — ० ले हराउँदै एसटिएस विजेता बनेको हो ।
तीन खेलमा जित हात पारेको एसटिएसको ९ अंक जोड्यो । एसटिएसको लागि योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र समीर विष्टले एक एक गोल गरे । अब एसटिएसले लिगको अन्तिम खेलमा मंगलबार डेलीपाटी डटकमसँग खेल्नेछ ।
यस्तै रेडियो धनगढी समूह 'बी' को विजेता बन्दै सेमिफाईनल पुगेको छ । रेडियो धनगढीले सोमबार बी टिभीलाई ७—१ ले हराएको छ । रेडियो धनगढीका लागि लोक कार्कीले ५ गोल गरे । प्रकाश छेडालले २ गोल थपे । बी टिभीका लागि नवराज धानुकले एक गोल फर्काए ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलाली जिल्ला समन्वय शाखाको आयोजनामा जारी प्रतियोगितामा सुदुर सन्देशले सान्त्वना जित हात पारेको छ । सुदुर सन्देशले दिनेश एफएमलाई ५—० ले हराएको हो । सुदुर सन्देशका लागि राजकुमार चौधरीले ३ बालकृष्ण शर्माले २ गोल गरे ।
यसअघिको एक खेलमा हार र एकमा बराबरी गरेको सुदुर सन्देशले ४ अंक जोडेपनि प्रतियोगिताबाट बाहिरिएको छ भने दिनेश एफएम पनि तीन खेलमा पराजित हुँदै अंक विहीन छ ।
प्रतियोगितामा दोस्रो जित हात पार्दै पश्चिम टुडेले सेमिफाईनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पश्चिम टुडेले डेलीपाटी डटकमलाई ११—३ ले पराजित गर्यो । पश्चिम टुडेका लागि प्रदिप पाठक दिपक उपाध्याय र रोशन चौधरीले चार चार गोल गरे । डेलीपाटी डटकमका लागि सुनिल आउजीले दुई र पुष्कर विकले एक गोल फर्काए ।
प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ।