धनगढी । नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता एसटीएस टेलिभिजन, रेडियो धनगढी र बी टिभीले विजयी सुरुवात गरेका छन् ।
शनिबार भएको उद्घाटन खेलमा एसटीएसले पश्चिम टुडेलाई १५—२ ले हरायो । एसटीएसको जितमा सागर शाहले ७ गोल गरे । शंकर बोहोराले चार जितेन्द्र रावल र योगेन्द्र नायकले दुई दुई गोल गरे । पश्चिम टुडेका लागि दिपक उपाध्याय र खेम उपाध्यायले एक एक गोल फर्काए ।
यस्तै रेडियो धनगढीले दिनेश एफएमलाई ६—१ गोलले पाखा लगायो । रेडियो धनगढीका लागि लोक कार्कीले तीन तथा प्रकाश छेडाल सौरभ थापा र पुष्प जोशीले एक एक गोल गरे । दिनेश एफएमका लागि कमल सावदले एक गोल फर्काए ।
त्यस्तै बी टिभीले सुदुर सन्देशलाई ५—४ ले हराएको हो । बी टिभीका लागि नवराज धानुकले तीन तथा सीताराम ओझाले दुई गोल गरे । सुदुर सन्देशका लागि बालकृष्ण शर्माले तीन तथा पुष्कर पौडेलले एक गोल फर्काए ।
अर्को खेलमा रेडियो डेलिमेल र डेलीपाटी डटकमले ४-४ गोलको बराबरी खेलेका छन् । डेलिमेलका लागि सन्तोष रावतले तीन तथा राजेश चौधरीले एक गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले एक्लै चार गोल गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा जारी प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ।