काठमाडौं । भारतमा आयोजना हुने दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालबाट ११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
भारतको गुवाहाटीमा यसै साताबाट सुरु हुने प्रतियोगितामा ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यहिँ मे १९ देखि २५ सम्म संचालन हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५२ केजी तौल समूहमा तेजबहादुर देउवा,५६ केजीमा सुरेन्द्र राई,६० केजीमा प्रकाश लिम्बु,६४ केजीमा भुपेन्द्र थापा,६९ केजीमा विकास लामा र ९१ केजी माथि आशिष डुवाडी रहेका छन् ।
महिलातर्फ ५१ केजीमा माला राई,५६ केजीमा मिनु गुरुङ,५७ केजीमा चन्द्र कुमारी थापा,६० केजीमा संगीता सुनार र ६४ केजीमा पुनम रावल रहेका छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापा मगर, प्रशिक्षकमा हरिष बहादुर चन्द, रमेश दास श्रेष्ठ र टिम व्यवस्थापकमा टर्क राज राई रहेका छन् ।
दिल्लीमा भएको यसै प्रतियोगिताको पहिलो संस्करणमा नेपालले २ कांस्य पदक जितेको थियो । नेपालकी पुनम रावलले ६४ केजी र विमला श्रेष्ठले ५१ केजीमा कांस्य जितेकी थिईन् । यस पटक पनि पुनमले प्रतिस्पर्धा गर्ने छिन् । अघिल्लो संस्करणमा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यस संस्करणमा अघिल्लो पटक प्रतिस्पर्धा गरेका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीलाई बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी लगायतले विदाई गरे ।