काठमाडौं । बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब र रोयल बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा विजयी सुरुवात गरेका छन् ।
आइतबार भएको खेलमा बुढानिलकण्ठले किर्तिपुर बास्केटबल टिमलाई ७०-५६ स्कोरले पराजित गर्यो । बुढानिलकण्ठका लागि सौरभ श्रेष्ठले १५ अंक जोडे ।
यस्तै रोयलले साउथ साइडर्स बास्केटबल क्लबलाई ७०-६२ स्कोरले पराजित गर्यो । रोयलका अमृत कोइरालाले १० अंक जोडे ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइनेछ । ५५ दिन चल्ने प्रतियोगितामा कुल ६८ खेल हुनेछ ।
दुई चरणको लिगपछि शिर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । प्ले अफमा पहिलो र दोस्रो हुनेले पहिलो क्वालिफायर खेल्नेछ । विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्नेछ ।
तेस्रो र चौथो हुने टोलीले इलीमिनेटर खेल खेल्ने छ । जसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।