काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेसनल क्लबले नेपाली बास्केटबल खेलकै सर्वाधिक ठुलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिगमा विजयी सुरुवात गरेका छन् ।
शनिबार भएको खेलमा आर्मीले गोल्डेन गेट इन्टरनेशनल क्लबलाई १०४ - ६९ स्कोरले पराजित गर्यो । यस्तै टाइम्सले नेपाल पुलिस क्लबलाई ९६-६१ स्कोरले पराजित गरेको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइनेछ । ५५ दिन चल्ने प्रतियोगितामा कुल ६८ खेल हुनेछ ।
दुई चरणको लिगपछि शिर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । प्ले अफमा पहिलो र दोस्रो हुनेले पहिलो क्वालिफायर खेल्नेछ । विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्नेछ ।
तेस्रो र चौथो हुने टोलीले इलीमिनेटर खेल खेल्ने छ । जसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।