काठमाडौं । महिलाको सर्वाधिक ठुलो बास्केटबल प्रतियोगिता 'उमेन्स नेपाल बास्केटबल लिग' आगामी जेठमा आयोजना हुने भएको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग जेठ २४ देखि असार ७ गतेसम्म हुने जनाएको छ ।
प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् । कुल २४ खेल हुने उमेन्स लिगमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, समृद्धि गोरिल्लाज र आईएसओ काइटले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
यस्तै आयोजक पिडिसिएनले शनिबार सुरु हुने पुरुषको क्विक्स नेपाल बास्केटबल लिगको तयारी पुरा भएको जनाएको छ ।
आठौं राष्ट्रिय खेलकुदको कारण सरेको पुरुष लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको पहिलो दिन दुई खेल हुनेछ ।
जसमा गोल्डेन गेट इन्टरनेशनल क्लब र त्रिभुवन आर्मी तथा नेपाल पुलिस र टाइम्स इन्टरनेसनल क्लबबीच खेल हुनेछ ।
पुरुषतर्फ गोल्डेन गेट इन्टरनेशनल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लब, रोयल बास्केटबल क्लब, किर्तिपुर बास्केटबल क्लब,टाइम्स इन्टरनेशनल क्लब,साउथ साइडर्स बास्केटबल क्लबले खेल्ने छन् ।
लिग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइनेछ । ५५ दिन चल्ने प्रतियोगितामा कुल ६८ खेल हुनेछ ।
दुई चरणको लिगपछि शिर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । प्ले अफमा पहिलो र दोस्रो हुनेले पहिलो क्वालिफायर खेल्नेछ । विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्नेछ ।
तेस्रो र चौथो हुने टोलीले इलीमिनेटर खेल खेल्ने छ । जसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।