काठमाडौं । नेपालका तेज बहादुर देउवा बैककमा जारी थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङको तेस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको खेलमा ४९ केजी तौल मुनिका देउवाले लाओसका खेलाडी पराजित गर्दै तेस्रो चरणमा पुगेका हुन् ।
पहिलो चरणमा बाई पाएका देउवाले लाओसका खाम्फोभान खाम्साथोनेलाई पराजित गरे । थाइल्याण्ड बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा नेपालका भुपेन्द्र थापा भने पहिलो चरणमै पराजित भए । ६४ केजीमुनी भुपेन्द्र कोरियाका ह्युनसुक लिमसंग पराजित भए । भुपेन्द्र जारी प्रतियोगितामा पहिलो चरणबाट बाहिरिने चौथो नेपाली खेलाडी हुन् ।
यस्तै ५६ केजीमुनि नेपालका बिमल रोका दोस्रो चरणमा पराजित भए । बिमल काजकस्तानका जहानबोलतसंग पराजित भए । ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा अब तेज बहादुर देउवाको चुनौतीमात्र बाकी छ ।
प्रतियोगितामा नेपाल सहित ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली बक्सिङ टोली यो प्रतियोगिता खेल्न र एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा रहेका छन् ।
नेपाल बक्सिङ संघको ब्यबस्थापनमा नेपाली तोली २ महिने लामो प्रशिक्षण सकाएर एसियन गेम्स खेल्न इन्डोनेसिया जाने छन् ।