पोखरा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाईडिङमा त्रिभुवन आर्मी क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुवै इभेन्टमा अग्रता कायम गरेको छ ।
पोखरामा आइतबार उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले एक्यूरेसी टिम इभेन्टमा १४५ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ । १ नम्बर प्रदेश ९५५ अंकका साथ दोस्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
पुरुष ईन्डिभिजुअल एक्यूरेसी तर्फ पनि आर्मीले शीर्ष स्थान कायम राखेको छ । एक्यूरेसीमा आर्मीका खेलाडीहरु सागर जलारी र सागर नेपाली बिच तिब्र प्रतिष्पर्धा देखिएको छ । जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन । प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन ।
महिला ईन्डिभिजुअल एक्यूरेसी तर्फ समेत नेपाली सेना अग्रस्थानमा रहेको छ । दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छन । त्यसै गरि गण्डकी प्रदेशकी सबिता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छन ।
टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो । सोमबार अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए ।
क्रसकन्ट्रीतर्फ आइतबार ३० किलोमिटरको टास्क सम्पन्न भएको छ । क्रसक्रन्ट्री तर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ ।
क्रस कन्ट्री इन्डिभिजुअल पुरुष तर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९१३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८६९ र नेपाली सेनाका निशिन थापाले ८१८ अंक बटुलेका छन । हिजो र आज गरि पुरुष इन्डिभिजुअल तर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११ अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।
यसै गरि महिला क्रस कन्ट्री इन्डिभिजुअल तर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २७९ अंकका साथ तेश्रो स्थानमा छन ।
नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन ।