बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको पौडीको खेल स्थल सारिने भएको छ । प्रतियोगिताको अघिल्लो दिनसम्म निर्माणाधिन पौडी पोखरीमा पानी भर्ने काम नसकिएपछि खेल स्थल सर्ने पक्का भएको हो ।
राखेप प्रेस सल्लाहाकार रोहित दाहालले पौडीका प्रारम्भिक चरणका खेलहरु नेपालगञ्जमै रहेको सिग्नेट होटलको पौडी पोखरीमा हुने बताए ।
‘प्राविधिक कारणले खेल स्थल परिवर्तन भएको छ । निर्धारित समयमा खेल सञ्चालन गर्नुपर्ने भएकाले सिग्नेट होटलको पौडी पोखरीमा प्रारम्भिक चरणका खेलहरु हुनेछन् । फाईनल खेल रंगशाला परिसरकै पोखरीमा गर्ने तयारी छ ।’ उनले भने ।
रंगशाला परिसरमा रहेको पौडी पोखरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आयोजना गर्न १६ लाख लिटर पानी आवश्यक थियो । तर पानीका लागि तयार गरिएको बोडिङबाट मात्र दुई लाख लिटर पानी निस्किएको छ ।
‘हामीसंग सञ्चित २ लाख पानी छ । थप २ लाख बोडिङबाट निस्कियो । तर पौडीका लागि १६ लाख लिटर पानी आवश्यक पर्छ । तत्काल पानी भर्न सक्ने अवस्था नभएकाले पौडीको खेल सार्नु परेको हो ।’ निर्माण शाखाका एक ईन्जिनियरले खेलपाटीसंग भने ।
नेपालगञ्ज रंगशालामा बनेको पौडी पोखरीको आयातान ५० बाई २५ मिटरको रहेको छ । राखेपले बैशाख ७ गतेबाट पौडीका खेलहरु सञ्चालन गर्ने गरि खेल तालिका सार्वजनीक गरेको थियो ।