नेपालगंज । नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
घोराहीस्थित कभर्डहलमा त्रिभुवन आर्मी क्लबका रत्नले पुरुष एकलतर्फ पुलिसका पूर्ण बहादुर थापालाई २१- ११ र २१-७ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
पुरुष एकलतर्फ नै एपिएफका दिपेश धामीले प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा सुदूरपश्चिमका प्रिन्स दाहा, एपिएफका गौतम कठायत र विजित थापामगर रहेका छन् ।
यस्तै आर्मीका विशाल खड्का, प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका बिष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकाश श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्माले पनि दोस्रो चरणमा स्थान बनाएका छन् ।
महिला एकलतर्फ आर्मीकी नङसल देवी तामाङले आफ्नै क्लबकी गिता राईलाई २१-११ र २१-११ को सेटमा हराएर क्वाटरफाइनलको यात्रा तय गरिन् ।
यस्तै महिला एकलतर्फ आर्मीकै का रशिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि क्वाटरफाइनलमा स्थान बनाए ।
त्यस्तै एपिएफका जेशिका गुरुङ्ख, शोभा गौचन र सुनैना मुखियाले पनि दोस्रो चरणमा स्थान पक्का गरिन् । दोस्रो चरणमा प्रवेश गर्ने अन्य खेलाडीमा प्रदेश ५ की संझना शर्मा, प्रदेश १ की निता लम्साल, सिता राई, सिमा राजबंशी, प्रदेश ३ की सफी खत्री, गण्डकी प्रदेशकी पुनम गुरुङ्ख, कर्णाली प्रदेशकी अग्रीमा भण्डारी र सुदूरपश्चिमकी प्रसुना खत्री पनि रहेकी छिन् ।